काठमाडौं - बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले प्राप्त गरेको छ ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान)को कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ अर्थात् करबाहेक १४ करोड ५६ लाख रुपैयाँको कीर्तिमानी बोली लगाउँदै एनपीएलको प्रसारण अधिकार सुरक्षित गरेको हो।
हिमालय स्पोर्ट्सले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उसले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो। त्यस्तै, यस वर्ष क्यानले तोकेको न्यूनतम बोलकबोल रकमभन्दा पनि यो रकम झण्डै साढे दुई गुणा बढी रहेको कम्पनीले जनाएको छ।
प्रसारण अधिकार प्राप्त गर्नुलाई हिमालय स्पोर्ट्सले नेपाली क्रिकेटका लागि गर्वको विषय भएको बताएको छ। एनपीएल ठूलो स्तरको लगानीको हकदार रहेको र क्यानले प्रतियोगितालाई दक्षिण एसियाली क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’का रूपमा विकास गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा के हासिल गर्न सकिन्छ भन्ने उदाहरण एनपीएलको बढ्दो प्रसारण अधिकार मूल्यले देखाएको छ।
प्रसारण अधिकारको मूल्यमा भएको वृद्धिले नेपाली क्रिकेटको समग्र इकोसिस्टमलाई बलियो बनाउन, थप स्रोतसाधन जुटाउन तथा खेलको विकासका लागि नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने हिमालय स्पोर्ट्सको विश्वास छ।
हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारण अधिकारलाई आफूले केवल व्यावसायिक खरिदका रूपमा नलिएको जनाएको छ। यसलाई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा लिँदै एनपीएललाई गुणस्तरीय उत्पादन र फराकिलो पहुँचसहित दर्शकमाझ पुर्याउने कम्पनीले प्रतिबद्धता जनाएको छ।


